तनहुँ, चैत १४ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुल निर्माण भएको छ । २१ करोड ६८ लाख ४८ हजारको लागतमा पुल निर्माण भएको हो ।
तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन सञ्चालन पनि भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनन गर्न भने बाँकी रहेको बताए ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।
उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको छ । त्यसैका लागि आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए । विसं. २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।