काठमाडौं, १४ चैत । नेकपा (एकीकृत समाजवादी) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने भएको छ । समाजवादीले भोलिसम्म बैठक बसेर उम्मेदवारबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।
समाजवादीले इलाम–२ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जीतबहादुर राईलाई अगाडि सारेको छ । त्यस्तै, बझाङ–१ (क) को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने नेकपा (एस) को तयारी रहेको छ ।
यसअघि इलाम– २ मा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्नेबारे चर्चा चलेको थियो । अन्ततः माओवादी र समाजवादी दुवै दलले आ–आफ्नै उम्मेदवार उठाउने भएका छन् ।