Logo

जनार्दनको कारण ओलीसँग प्रचण्डको सम्बन्ध बिग्रिने खतरा, माओवादी बैठकमा यस्तो छलफल



काठमाडौं, १४ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा अध्यक्ष पुष्पकमल दाहालको खरो आलोचनामा उत्रिन थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य थालेपछि शर्मा रुष्ट बनेको चर्चा छ ।

खासगरी प्रचण्डले अर्का उपमहासचिव वर्षमान पुनको साथमा एमालेसँगको सहकार्य थालेका छन् । शर्मा कांग्रेससँग नै सहकार्य गरेर जानुपर्नेमा पक्षमा थिए । नेपालमा सत्ता समिकरण फेरबदल हुँदा शर्मा भने विदेशमा थिए । अहिले एमालेको सत्तारोहण भैसकेको छ । यस्तोमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेश सरकारको भागबण्डामा छलफल गरेर एउटा समझदारी बनाएका छन् । दुई नेताबीचको समझदारीअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भनिएको छ । तर, जनार्दनले भने उक्त समझदारी बनेको थाहा पाएपछि नै प्रचण्डसँग ठाडो असन्तुष्टि व्यक्त गरेको उच्च स्रोतको दाबी छ ।

आज (बुधबार) बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा समेत शर्माले कर्णाली प्रदेश माओवादीको जनाधार भएको क्षेत्र भन्दै कुनैपनि हालतमा उक्त प्रदेशको सरकारको नेतृत्व छाड्न नहुने अडान सुनाएका छन् । उनले गठबन्धनमा कर्णाली प्रदेशको नेतृत्वको भागबण्डा आफ्नै दलमा राख्नसमेत प्रचण्डलाई भनेका छन् ।

कतिपयले भने गठबन्धनको मुख्य घटक एमालेसँग समझदारी गरेर नै जानुपर्नेमा यो कर्णाली प्रदेशको नेतृत्वमा दाबी गर्दा समस्या हुने भन्दै शर्माको ध्यानाकार्षण गराएका थिए । शर्माको अडानको कारण ओली र प्रचण्डबीचको सम्बन्ध पनि बिग्रिने खतरा देखिएको माओवादी केन्द्रका केही नेताहरुको गुनासो छ । file photo



प्रतिक्रिया दिनुहोस्