Logo

गैरआवासीय नेपालीलाई राहदानी लिन सहजीकरण गरिदिन आग्रह



काठमाडौं, १४ चैत्र । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी लिने सम्बन्धमा सहजीकरणका लागि राहदानी विभागको ध्यानाकर्षण गराएको छ । नेपालको संविधानमा उल्लेखित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नेपाल सरकारले गत अक्टोबरदेखि गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरिसकेको अवस्थामा सोही नागरिताबाट राहदानी लिने प्रकृया सम्बन्धमा भने कानूनले स्पष्ट दिशानिर्देश नगर्दा समस्या परेको भन्दै संघका पदाधिकारीहरु विभागका महानिर्देशक तीर्थराज अर्यालसँग छलफलका लागि पुगेका हुन् ।

संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राहदानीका विषयमा विश्वभरका गैरआवासीय नेपालीहरुले चासो व्यक्त गरेको भन्दै स्पष्ट प्रावधानसहित राहदानी दिने प्रक्रियामा छिटोछरितो रुपमा सहजिकरणका लागि विभाग महानिर्देशक अर्यालको ध्यानाकर्षण गराएको हो । जवाफमा प्रमुख अर्यालले एनआरएनको समस्या पहिचान गरि समाधानका लागि आफूले यथाशक्य सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

यसअघि पनि संघको विभिन्न चरणमा विभागमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । भेटमा अध्यक्ष डा केसीसहित उपमहासचिव सोम सापकोटा र एनआरएन अभियन्ता तीर्थ भट्टराईको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्