जोहानेसबर्ग, चैत २२ । दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । बुधबार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा–एनकाकुलालाई प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उनलाई प्रिटोरियाको एक अदालतमा उपस्थित गराइएको छ ।
‘मापिसा–एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग लगाइएको राष्ट्रिय अभियोजन प्राधिकरणका भेकी मान्याथीले अदालतसमक्ष बताएका छन्।
अदालतमा पहेँलो र निलो रङ्गको पहिरन लगाएकी ६७ वर्षीया अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) की नेता मापिसा एनकाकुला मौन रहेकी थिइन् । पछि उनलाई जमानतमा रिहा गरिएको थियो । उनका वकिल ग्राहम केर–फिलिप्सले मापिसा एनकाकुलालाई उद्धृत गरी जारी गरेको वक्तव्यमा लेखिएको छ, “मविरूद्धको मुद्दा निकै कमजोर र राजनीतिक पूर्वाग्रहले ग्रसित छ । मैले राज्यबाट निवृत्तिभरण पाउँछु त्यसैले मैले विदेश पलायनको जोखिम उठाउने छैन ।”
संसदीय निर्वाचन हुनुभन्दा दुई महिना पहिले आएको यो मुद्दाले कमजोर अर्थतन्त्र र सरकारी भ्रष्टाचार र कुव्यवस्थापनको आरोपका बीच जनमत सर्वेक्षणमा संघर्ष गरिरहेको एएनसीको समस्यालाई थप बढाएको छ ।
राष्ट्रपति सिरिल रामाफोसा र उनका उपराष्ट्रपतिसहित एएनसीका वरिष्ठ राजनीतिज्ञमध्ये मापिसा–एनकाकुला पनि भ्रष्टाचारकाण्डमा मुछिएकी हुन् । उनीमाथि सन् २०१४ देखि २०२१ सम्म रक्षामन्त्री हुँदा एक पूर्व सैन्य ठेकेदारसँग मोटो रकम घूस मागेको आरोप लागेको थियो । उनले उक्त आरोपको खण्डन गरेकी छन् ।
मान्याथीका अनुसार ती राजनीतिज्ञले ४५ लाख ¥याण्ड अर्थात् २ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको ‘उपहार’ मागेकी थिइन्। उनलाई २१ लाख रुपैयाँ घूस दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् र आवश्यक परेकोसमयमा प्रमाण दिनसक्नेबताएका छन् । एएफपी