Logo

एमालेसँग सहकार्यको लागि शेखर कोइरालालाई हतार, दिए यस्तो कारण



काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशलाई बचाउनको लागि पनि एमाले र कांग्रेस एक ठाउँमा उभिनुपर्ने मत राखेका छन् । उनले अहिले देश दुर्घटनामा पर्न लागेको टिप्पणी गरे । अब देश बचाउनको लागि दलभन्दा माथि उठेर सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।

पार्टीको कामको सिलसिलामा दाङ पुगेका कोइरालाले आज भालुवाङ्मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कोइरालाले भने,‘मैले देश बचाउनकै लागि संसद्‍मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ, राजनीतिक दलहरूले देशलाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ।’

सो क्रममा उनले पार्टी एक ढिक्का भएर अघि बढेको र आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनसक्ने दाबी सुनाए । पछिल्लो समय कोइरालाले एमालेसँग मिलेर निर्वाचन प्रणाली नै फेर्नको लागि संविधान संशोधनको आवाजसमेत उठाउने गरेका छन् । अहिलेको निर्वाचन प्रणालीले कुनै एक दलको बहुमत नआउने र बहुमत नआउँदा देशमा सधैं राजनीतिक अस्थिरता कायम रहने उनको भनाई छ । देशलाई राजनीतिक स्थायित्व दिनको लागि पनि निर्वाचन प्रणाली फेर्नुपर्ने उनको मत छ । file photo



प्रतिक्रिया दिनुहोस्