काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छिन् ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन् । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा छन् ।
सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुुलियत दिन सरकार सकारात्मक रहेको बताइन् । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति (रासस) को समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने धारणा राखिन् ।
मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन् । उनले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गरिन् । शाखाले पत्रकारिताको माध्यमबाट योगदान गर्नेलाई विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । तस्बिर : मुकुन्द्र कालिकोटे/रिपोर्टर्स नेपाल