Logo

बौद्ध भिक्षुमाथि प्रहरीले बुट प्रहार गरेको घटनामा माफी माग्न सरकारलाई समान नेपालको आग्रह, गल्ती स्वीकार नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी



काठमाडौं, ३ वैशाख । राष्ट्रिय सीमान्तीकरण विरुद्धको अभियान समान नेपालले गत चैत २४ गते काठमाडौंको भद्रकालीमा प्रहरीले बौद्ध भिक्षुमाथि कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समान नेपालले पुर्खाहरूले विकास गरेको धर्म, संस्कृति र सभ्यतामाथि आधुनिकतावादीहरुले नियोजित रूपमा षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको हो ।

शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका बौद्ध भिक्षु, याक्थुङ राष्ट्रको के (च्याब्रुङ), बोम्बोको ङाँ (ढ्याङ्ग्रो) लगायतमाथि नियोजित रुपमा कुटपिट र आक्रमण भएको समान नेपालको निश्कर्ष छ । साथै, नेवाः राष्ट्रको धिमे बाजा कब्जा गर्ने तथा फुटाउनेजस्ता गलत कार्य भएको बताइएको छ ।

उनीहरुले धर्म, संस्कार, संस्कृति तथा सभ्यतामाथि नियोजित आक्रमण भएको बताएका छन् । उक्त घटनामा राज्यले तीन दिनभित्र पूर्ण क्षतिपुर्तिसहित माफी माग्नुपर्ने बताएका छन् । राज्यले माफी नमागेमा र बाजाहरू फिर्तासहित क्षतिपुर्ति नदिएमा चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै लामा फुर्वा तामाङले आफूहरु पहिचानसहित कला, सस्कृति झल्काउन शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा प्रहरीले हातपात गरेको बताए । आफूहरु उक्त प्रदर्शनबाट साइट लागेर बसेको अवस्थामा पनि आफूमाथि बुट बजारेको उनको भनाइ छ ।

सरकारले उक्त घटनामा माफी माग्नै पर्ने उनको भनाइ छ । आफूमाथि बजारेको बुट बौद्ध धर्ममाथिको प्रहार रहेको उनले बताए । प्रहरीको उक्त कार्यले लाखौं बौद्धमार्गीहरुको मन दुखेको उनले बताए ।

अर्का वक्ता साङ्गे दोर्जे तामाङ लामाले बुद्ध जन्मिएको देश भनेर चिनिएको देशमा बौद्धमार्गी भिक्षुमाथि बुट प्रहार हुनु दुःखद रहेको बताए । आफ्नो धर्म, संस्कृतिको रक्षा मौलिक अधिकार भएकाले कसैले कुण्ठित गर्न नपाउने उनको भनाइ छ ।

वक्ताहरु धनबहादुर थिङ, प्रेम लावती, कृष्ण मानन्धरलगायतले उक्त घटनाको विरोधमा बोलेका थिए । उनीहरुले सरकारले माफी माग्नुपर्ने धारणा राखेका थिए । उक्त प्रदर्शनमा प्रहरीको कुटपिटबाट घाइते भएका ३० जनाभन्दा बढी अझै उपचाररत रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्