काठमाडौं, १३ बैशाख । पूर्व राष्ट्रपति भण्डारीले नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी नेपालको समकालीन राजनीतिका निष्कलङ्क र सम्मानित नेता भएको बताएकी छिन् ।
नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा (एमाले)का तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।
पूर्व राष्ट्रपति भण्डारीले स्व. अधिकारीलाई नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका जनताले सच्चा मित्र र असल नेताको रूपमा सम्झने गरेको बताए । नेकपा (एमाले) का तत्कालीन अध्यक्ष अधिकारी नेतृत्वको सरकारले ल्याएको ज्येष्ठ नागरिक भत्ता दक्षिण एसियाकै सामाजिक सुरक्षाको नमुना कार्यक्रम भएको उनले बताईन् ।
स्व. अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व भएको र राणा शासन, पञ्चायत विरुद्धको आन्दोलनमा सहभागी हुने सिलसिलामा उनले पटक पटक गरी लामो जेल जीवन बिताएको पूर्व राष्ट्रपति भण्डारीले बताईन् । उनले गाउँको विकास र मुलुकको अन्तर्राष्ट्रिय छवि उज्यालो बनाउन स्व.अधिकारीको महत्वपूर्ण योगदान रहेको भण्डारीको धारणा छ ।
मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताको लागि अध्ययन गर्नुपर्ने खुल्ला किताब भएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले आजका उपलब्धि उहाँजस्तै नेताहरूको त्याग र बलिदानले प्राप्त भएको स्पष्ट पारिन् । पूर्वराष्ट्रपति भण्डारीले नेकपा माक्र्सवादी र नेकपा (माले) एकीकरण, त्यस अघि बाममोर्चाको गठनका सन्दर्भमा मनमोहन अधिकारीसँगका भेट र उहाँबाट प्राप्त प्रेरणाको स्मरण पनि गरे । पूर्वराष्ट्रपति भण्डारीले स्व. अधिकारीको शालिकमा माल्यार्पण गरी श्रद्धासुमन प्रकट गरिन् ।