रामेछाप, वैशाख २१। जंगलमा लागेको डढेलो मानव बस्तिमा पुगेर घरमा आगलागी हुँदा बिहिबार बेलुका एक महिलाको मृत्यु भएको छ । घर नजिकैको जंगलमा लागेको डडेलोले छेवैमा रहेको घरमा भेट्दा रामेछाप नगरपालिका वडा नं ८ चौकिटारको ३२ बर्षकी रमिता तामाङ्गको जलेर मृत्यु भएको हो ।
डढेलोले उनको दुईवटा घर तथा गोठ जलेर नष्ट हुनुका साथै ४८ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रामेछाप लगिएको प्रहरीले जनाएको छ ।
रामेछाप जिल्लाको अधिकांश जंगलहरुमा अहिले डढेलो लागिरहेको छ । डढेलोले अहिलेसम्म सवैभन्दा बढी क्षति रामेछाप नगरपालिकामा गरेको रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बताए । रामेछाप जिल्लामा डढेलोकै कारण यसअघि दुई जनाको मृत्यु भइसकेको छ ।