काठमाडौं, २१ वैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सरोकारवाला निकायलाई बोलाएर रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आयोजना गरेको उक्त साक्षत्कारमा अधिवक्ता स्वागत नेपाल, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलगायतको उपस्थिति रहेको थियो ।
अधिवक्ता स्वागत नेपालले विश्व प्रेस स्वतन्त्रता दिवस मानाइरहँदा अदालतबाटै प्रकाशित समाचार सामाग्रीमा रोक लगाउने काम भएको भन्दै दुःख व्यक्त गरे । आफू आजपनि ‘सिधा कुरा’ टिमको बयानको क्रममा सर्वोच्च अदालतमा गएर आएको बताउँदै उनले भने, ‘विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको बेलामा अदालतबाटै सञ्चारकर्मीले तयार गरेको सञ्चार सामग्री, न्यायाधीश, वकिल वा अन्य कुनै व्यक्तिहरुको भ्रष्टाचारमा संलग्नता छ भन्ने पुष्टि हुन लागेपछि त्यो प्रमाणलाई नष्ट गर्ने आदेश दियो । अहिलेको संविधानमा हामीले प्राप्त गरेको उपलब्धि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता हो । त्योमाथि अदालतबाटै आक्रमण भइरहेको छ ।’
यस्तो अवस्था आउनुमा सञ्चार क्षेत्रका विज्ञहरुको पनि कमजोरी रहेको र चुकेको उनले बताए । अर्काको देशको स्वतन्त्रता दिवस र स्वाधीनता दिवसको विज्ञापन नेपाली पत्रपत्रिकाहरुले छापेर पैसा लिएको उनको आरोप छ । अहिले मुलधारका भनिएका सञ्चार माध्यमहरु ‘भ्वाइस अफ द भ्वाइसलेस’ बन्न नसकेको उनको भनाइ छ । साथै, सिधा कुरा टिममाथि सर्वोच्च अदालतले चलाएको मानहानी मुद्दाबारे बोल्दै उनले आपत्ति जनाए । सञ्चारकर्मीहरुले समाचारको स्रोत उपलब्ध गराउन नपर्ने अधिकार विश्वब्यापी अधिकार भएपनि इजलासबाटै स्रोत खुलाउन आदेश भएको भन्दै उनले दुःख व्यक्त गरे ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले सञ्चारकर्मी बनेर सत्ताको भर्याङ चढ्ने, जनताको विरुद्ध ठगी गर्ने काम पनि भइरहेको बताए । पत्रकारिता समाजको ऐना हुनुपर्नेमा क्यामेरा बनेको उनको भनाइ छ । अहिलेको पत्रकारिताले ऐनाले झैं सत्यतथ्य नआएर क्यामेराले झैं लुकाउने, छिपाउने र आफूलाई मन लागेको मात्रै खिच्ने काम गरेको उनले बताए । पछिल्लो समय पत्रकारिता व्यवसायिक नभएर व्यापारिक हुँदै गएको उनको ठहर छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उनले रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको प्रशंसा गरे । उनले आफूले छोरीहरुलाई पत्रकार धमलाको उदाहरण दिएर श्रममा लाग्न प्रेरणा दिने गरेको स्मरण गराए । ‘मैले घरमा सानैदेखि मेरी छोरीहरुलाई उदाहरण दिने गरेको नाम–ऋषि धमला हो । म जहिल्यैपनि मान्छेको परिश्रम, अर्जुनले चराको आँखामात्रै देखेजस्तो जीवन–दर्शन आफूले आफैंले बनाउनुपर्छ ।’ उनले भने, ‘त्यो ऋषि धमलाको जस्तो हुनुपर्छ छोरी भनेर भनेको भन्ने गरेको छु । मैले उदाहरण दिएको श्रमजीवी हुनुपर्छ भनेर भनेको नाम ऋषि धमला नै हो ।’