Logo

नेपालले एक सयको नोटमा चुच्चे नक्शा राखेपछि भारतीय विदेशमन्त्रीको टिप्पणी : नेपालले एकतर्फी निर्णय गर्यो



काठमाडौं, २३ बैशाख । नेपालको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निर्णय गरेपछि भारत रुष्ट बनेको छ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालको उक्त निर्णय एकपक्षीय रहेको भन्दै असन्तुष्टि पोखेका छन् ।

हिजो (शनिबार) ओडिशाको भुवनेश्वरमा आयोजित एक कार्यक्रममा नेपालको पछिल्लो निर्णयबारे सोधिएको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले दुई देशबीच समस्या समाधानको लागि यसअघि नै स्थापित सरकारी संयन्त्र हुँदाहुँदैपनि नेपालले एकतर्फी निर्णय लिएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

उनको भनाई थियो,‘मैले पनि त्यो रिपोर्ट (नेपालको निर्णय) देखेँ । मैले विस्तृतमा भने हेरेको छैन । तर यसमा हाम्रो धारणा प्रस्ट छ की नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ । त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र जमिनी यथार्थ परिवर्तन हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्