काठमाडौं, २९ बैशाख । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता जोगाउनको लागि उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन गराएको भन्ने आरोप अस्विकार गरेका छन् । उनले जसपा, नेपाल आँफै फुटेको दाबी गरे ।
उनले भने,‘सरकार चलाउने कुरा त जसले बहुमत जुटायो उसकै सरकार हुन्छ । संसद्मा जसले गणित शो गर्नसक्छ, उसैले सरकारको नेतृत्व गर्ने हाम्रो प्रणाली हो । प्रधानमन्त्रीले विश्वासको मत लिइसक्नुभएको छ । प्रधानमन्त्री वा अहिलेको गठबन्धन र नेकपा एमालेका नेता कसैको पार्टी फुटाउन हिँड्नुभएको छैन् । आँफै पार्टी फुटेका हुन् । प्रधानमन्त्रीले सबैलाई सँगै लिएर जाने कुरा अपिल गर्नुभएको छ । कसैको पार्टी फुटाउने कुरा होईन ।’
रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) आयोजना गरेको विशेष सक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता पौडेलले सदन अवरोध गरेर कांग्रेसले गलत गरेको आरोप लगाए ।उनले भने,‘निरन्तर वार्ता र सम्वादको मार्फत सदनलाई सुचारु गर्नुपर्छ । यो दिशातर्फ जानुपर्छ । वेल घेरेर सदनको अवरोध गर्दा कांग्रेसको इज्जत हुँदैन् । आवाज उठाएर गर्र्नुहोस । यसरी वेल घेराउ गरेर सदन अवरोध गर्दा कांग्रेसको इतिहासको निरन्तरता हुँदैन् ।’
उनले जेठ १ गते राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनि जेठ १५ गते बजेट पेश गर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै सोहीअनुसार कांग्रेसले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने,‘कांग्रेस संसदीय अभ्यास सिकाउने दल हो । जेठ १ गतेको कार्यक्रम नरोक्न कांग्रेसलाई आग्रह गर्न चाहन्छु ।’
आफूहरुले संसदीय छानबिन समिति बनाउने कुराको विरोध नगरेको तर एकजना व्यक्तिविशेषलाई तोकेर छानबिन समिति बनाउन नहुने उनको भनाई छ । उनले भने,‘देशव्यापी रुपमा सहकारी पीडितहरुको बारेमा पनि र समग्र सहकारीका समस्याका समाधान गर्नेबारे छानबिन समिति बनाउनुपर्छ । प्रधानमन्त्रीज्यूले त यो कुरा सार्वजनिक रुपमा बोल्नुभएको छ । कांग्रेस तयार हुनुपर्छ ।’
उनले सदन सुचारू गर्ने कुरामा कांग्रेस लचिलो हुनुपर्नेमा जोड दिए । उनले भने,‘कांग्रेसले सदन अवरोध गर्ने होईन । अहिलेपनि ४० भन्दा बढि कानून बनाउनुपर्ने छ । संसद्का समितिमा कानून बनेर बसेका छन् । कांग्रेस आँफै वेल घेर्ने अनि सदन चलाउन दिएन भने के मेसेज जान्छ ? गृहमन्त्रीले म बोल्छु भन्नुभएको छ । बोल्न नदिने कुरा गलत छ । प्रधानमन्त्रीसँग जवाफ माग्नुभयो । प्रधानमन्त्रीले त बोलिसक्नुभयो । अब गृहमन्त्रीलाई पनि जवाफ दिन दिनुहोस । सदन अवरोध गरेर होईन, खोलेर जानुपर्छ ।’