Logo

भन्सार विभागमा भित्र वार्ता, बाहिर आन्दोलन जारी



काठमाडौं, १ जेठ । प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता तथा कार्यकर्ताहरु भन्सार विभाग घेराउसँगै वार्तामा पनि सरिक भएका छन् । विभागभित्र वार्ता चलिरहेको छ भने बाहिर आन्दोलन । विगत लामो समयदेखि आजपाले भन्सार कानूनमा भएको प्रावधान लुटकारी भएको भन्दै खारेजीको माग राखेर आन्दोलन गरिरहेको छ ।

उनीहरुको आन्दोलन अहिले चौथो चरणमा चलिरहेको छ । तर, सरकारको तर्फबाट मागप्रति कुनै सुनुवाई नभएपछि आजपा आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । प्रहरीले आजपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने र छोड्ने क्रम चलिरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा नै सरोकारवाला निकायका प्रमुखहरु वार्ताको लागि तयार भएका हुन् ।

आन्दोलनकारीहरुलाई भन्सार विभागका कर्मचारीहरुले आज विहानै वार्ताको लागि बोलाएका थिए । अहिले विभागमा वार्ता जारी छ । उक्त वार्तामा सरकारको तर्फबाट अर्थमन्त्रालयका प्रतिनिधि, बिभागका महानिर्देशक ढुण्डी प्रसाद निरौलासहितका सदस्यहरु छन् ।

उता, आन्दोलनकारीको तर्फबाट आजपाको वरिष्ठ नेता तिलक थापा, प्रवक्ता सिबी साह, संघर्ष समितिकी संयोजक रञ्जुकुमारी साह, आजपाका पार्टी कार्यालय सचिव बालकृष्ण सापकोटासहितको टोली छ । आम सम्पर्क मञ्चले घोषणा गरेको चौथो चरणको आन्दोलनअन्तर्गत गत जेठ २० गतेदेखि निरन्तर भन्सार विभाग घेराउ हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्