Logo

सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, १ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस स्याङ्जाका पूर्व सभापति, राष्ट्रियसभाका पूर्व सांसद एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खगेन्द्रराज रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज जारी गरेको शोक वक्तव्यमा भनिएको छ– “लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खगेन्द्रराज रेग्मीको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखित बनाएको छ । कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर स्वर्गीय रेग्मीले नेपाली कांग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

नेता रेग्मीको ७५ वर्षको उमेरमा आज आफ्नै निवास स्याङ्जाको भीरकोट–७ गेझबासमा निधन भएको हो । रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बनेका थिए । उनी लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहेका थिए । जिउँदो सहिदका रुपमा परिचित रेग्मी क्यान्सर रोगबाट पीडित थिए।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका रेग्मी २०२८ सालमा स्याङ्जा–पर्वत तरुण दलको अध्यक्ष, २०२९ सालमा गण्डकी अञ्चलस्तरीय तरूण दलको अध्यक्ष तथा २०३३ सालमा कांग्रेस स्याङ्जाको सहसचिव थिए । स्याङजा बम काण्डमा पक्राउ परेका रेग्मीलाई तत्कालीन व्यवस्थाले राजकाज अपराध ऐन अन्तर्गत मृत्युदण्ड र जन्म कैदसम्मको सजाय हुनेगरी मुद्दा दायर गरेको थियो । उनलाई कास्की कारागारमा थुनामा राखिएको थियो ।

नेता रेग्मीले २०३५ सालमा स्याङ्जाको पार्टी सचिव तथा त्यसपछि पटक–पटक सभापति रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । विसं २००६ मा जन्मिएका रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सदस्य थिए । नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक जेल जीवन बिताएका थिए । उनको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको कांग्रेसले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्