Logo

हुम्लाका तीन बस्ती अन्धकारमा



सिमकोट (हुम्ला), १ जेठ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकाको एउटा बस्ती आइतबारदेखि अन्धकारमा छन् । नाम्खा–३ को लामाखोल्सी र खगालगाउँ तथा सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ लामाखोल्सी र खगालगाउँ बीचको खोलामा रहेको विद्युत गृहमा मेसिनको फित्ता चुँडिदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

फित्ता चुँडिएर विद्युत् सेवा अवरुद्ध भएसँगै तीन बस्तीका झण्डै दुई सय ८० परिवार अन्धकारमा बस्न बाध्य भएको नाम्खा–३ खगालगाउँका रिक्जिन लामाले बताए । आइतबार साँझ फित्ता चुँडिदा यहाँका बासिन्दा बिजुलीबाट वञ्चित छन् । खगालगाउँमा ९०, लामाखोल्सीमा ३० तथा सिमकोट– ८ को खोल्सी गाउँमा एक सय ६० परिवारको बसोबास छ । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले चुँडिएको फित्ता मर्मतका लागि पहल भइरहेको बताए ।

तीन बस्तीका लागि २८ किलोवाट क्षमताको छोइपुग लघुजलविद्युत् आयोजना निर्माण गरिएको थियो । विद्युत् सेवा अवरुद्ध हुँदा विद्युतीय माध्यमबाट सञ्चालित सम्पूर्ण कार्य प्रभावित भएका छन् । स्थानीयले सल्लाको दियालो (झोरो) को प्रयोग गर्नुपर्ने बाध्यता छ । यहाँ हिल्दुम जलविद्युत् आयोजनाको लाइन विस्तार हुन नसक्दा समेत समस्या भएको उपाध्यक्ष लामाले बताए । रासस



प्रतिक्रिया दिनुहोस्