Logo

डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण



काँक्रेविहार (सुर्खेत), ४ जेठ । जिल्ला अस्पताल डोल्पाको लागि आधुनिक भवन निर्माण भएको छ । २३ करोड लागतमा उक्त भवन निर्धारित समयमा निर्माण भएको हो ।

बिहीबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले अस्पतालको उद्घाटन गरेसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । अस्पतालले २५ शश्यामा सेवा विस्तार गर्ने लक्ष्य राखे पनि हाल १५ शय्याको सेवा दिइरहेको छ ।

चालु आवमै प्रदेश सरकारले जिल्ला अस्पताललाई भौतिक पूर्वाधार तथा उपकरण व्यवस्थापन गरी १५ शय्याबाट २५ शय्यामा स्तरोन्नती गर्ने लक्ष्य लिएको थियो । सोही लक्ष्यअनुसार भवन निर्माण भएको मन्त्री शाहीले जानकारी दिए । नयाँ भवन निर्माणसँगै अस्पतालमा आन्तरिक व्यवस्थापनका काम हुने र त्यसमा मन्त्रालयको पूर्ण सहयोग रहने मन्त्री शाहीले बताए ।

अहिले अस्पताल जान र आउन भेरी नदी माथी पुल नहुँदा समस्या छ । समस्या समाधानका लागि उक्त पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ पोखरेलले अस्पतालका लागि प्रदेशले सहयोग गर्ने प्रतिबद्धता जनाए । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचारमा समस्या हुने गरेको डा अखण्ड उपाध्यायले जानकारी दिए ।

डोल्पाका बिरामीलाई अहिले हवाई मार्गबाट उद्धार गरेर बाहिर उपचारका लागि लाने गरिएको छ । सामान्य खालका बिरामी जिल्ला अस्पतालमा उपचार भए पनि जटिल समस्या भएकालाई जुफाल विमानस्थलबाट जहाजमार्फत सुर्खेत, नेपालगञ्ज लाने गरिएको छ । ७० प्रतिशतभन्दा बढी करारका स्वास्थ्यकर्मीबाट अस्पतालमा उपचार सेवा सञ्चालन गरिएको छ ।

चारवटा ठूला सडक निर्माण गर्न मन्त्री शाहीको निर्देशन

टुक्रे योजनामा बजेट खर्च नगर्न सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले जिल्लास्थित कर्मचारीलाई निर्देशन दिएक छन् । देखिने तथा परिणाम आउने खालका ठूला योजनामा ध्यान दिन मन्त्री शाहीले कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका हुन्। चारवटा ठूला सडक निर्माण गरेर विकासको अनुभूति देखाउन उनले निर्देशन दिए ।

खानेपानी सिँचाइ, भौतिक पूर्वाधार तथा सामाजिक विकासले सोही अनुसारका योजना छनोट गरेर प्रदेशमा पठाउन उनले आग्रह गरे । विकास गर्नेभन्दा कमाउनका लागि योजना माग गर्ने चलनको अन्त्य गर्ने उनको भनाइ छ ।

त्यसैगरि दुई वर्षभित्र डोल्पाका सबै पालिकामा विद्युतीकरण गरिने भएको छ । ३३ केभी प्रसारण लाइन सदरमुकाम दुनैमा सञ्चालन भइसकेको छ । त्रिपुरासुन्दरी नगरपालिकाको बगरमा निर्माण हुन लागेको सब स्टेसनबाट अन्य ठाउँमा विद्युत् लाइन विस्तार गर्न सहज हुने नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ ।

त्यसका लागि चौखामा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । जगदुल्ला, मुडकेचुला गाउँपालिकामा विद्युतीकरणका लागि विद्युत्का पोल ढुवानीको काम सुरु भइसकेको छ ।

सङ्घीय सरकारले मुडकेचुलामा सौर्य मिनिग्रेट पनि स्थापना गर्न पहल सुरु गरेको मन्त्री शाहीले जानकारी दिए । मन्त्री शाहीका अनुसार माथिल्लो डोल्पामा सौर्य मिनिग्रिडको माध्यमबाट विद्युतीकरणको काम भइरहेको छ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट ऋण सम्झौता भई निर्माणका लागि ‘टेन्डर’मा जान लागेकाले डोल्पा विद्युत्को हब हुने उनको भनाइ छ । पाँच वर्षभित्र आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ । २३ अर्बमा उक्त आयोजना निर्माण हुन लागेको हो । रासस



प्रतिक्रिया दिनुहोस्