Logo

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण



सिन्धुपाल्चोक, ९ जेठ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसी भएका हुन् ।

स्थानीय बुद्धरानी तामाङले स्थानीयले मात्र नभएर पर्यटकले समेत धेरै समस्या भोग्दै आएकामा झोलुङ्गे पुल निर्माणपछि सहज भएको बताए । “हिउँदको समयमा फड्केलगायत अन्य माध्यमबाट पुल तर्दै आए पनि बर्खायाममा अत्यधिक समस्या हुने गरेको थियो । गाउँपालिकाले पुल बनाइदिएपछि ज्यान जोखिममा राखेर खोला तर्ने गरेका स्थानीय निकै खुसी छौँ”, उनले भने ।

नवनिर्मित झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाको ६० लाख बजेटमा पुल निर्माण भएको जानकारी दिए । उनले पाँचपोखरी थाङपाल पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गका रूपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङी र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताए ।

“स्थानीयको मागलाई क्रमशः पूरा गर्दैछौँ । काकताङकुक्तङमा झोलुङ्गे पुल निमार्ण, लार्केसम्मको सडक विस्तार तथा सोलिङ, बत्ती, पाहुनाघर निर्माण भइसकेका छन् । हालसम्म गाउँपालिकाले ११ वटा पुल निर्माण गरिसकेक्यौ, अब काठको पोल विस्थापित गर्ने, याङ«ीमा पक्की पुल निर्माण गर्ने, बुद्धपार्कलगायत पर्यटकीयस्थलको पहिचान र प्रवर्द्धनका काममा लाग्छौँ”, अध्यक्ष लामाले भने ।

गाउँपालिकाको ६० लाख र स्थानीयको जनश्रमदानबाट बनेको एक सय १३ मिटर झोलुङ्गे पुलको निर्माणले पयर्टन आवागमनमा सहज हुने र स्थानीयको आर्थिक वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताए । उनले अब घरबासको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिजर्ना गर्ने उद्देश्य रहेको बताए । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, वडाका जनप्रतिनिधिलगायत स्थानीयको उपस्थिति थियो । रासस/file photo



प्रतिक्रिया दिनुहोस्