Logo

माधव नेपालले सत्ता समिकरणभन्दा बाहिर नजाने क्लियर गर्नुभएको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समिकरणमा कुनै समस्या नभएको स्पष्ट पारेका छन् । सत्ता समिकरणमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनबाट अलग हुन खोजेको र कांग्रेससँग सहकार्य गर्न लागेको समाचार आएको बेलामा प्रधानमन्त्री दाहालले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले आज विहानमात्रै आफूले माधव नेपालसँग कुरा गरेको सुनाउँदै एकीकृत समाजवादी अहिले सत्ता समिकरणबाट दायाँबायाँ नहुने जिकिर गरे ।

विराटनगर विमानस्थलमा सञ्चारकमीहरुसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले माधव नेपालले यो बीचमा कांग्रेससँग र आफूहरुसँग हुने र जोडिनेजस्तो गरेपनि अहिले सत्ता समिकरणबाट कतै नजाने बताए । उनले भने,‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा माधव नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुरबीच मधेश सरकारको विषयमा पनि कुराकानी भएको थियो । त्यसमा पनि प्रधानमन्त्री प्रचण्डले मधेश सरकार गठनको सवालमा पनि एकीकृत समाजवादी आफूहरुसँगै उभिने दाबी गरे । उनले भने,‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन । अहिले हाम्रो जेछ त्यही हुन्छ ।’ मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते विश्वासको मत लिने जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्