Logo

राष्ट्रसङघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान



तेल अभीभ, इजरायल, १७ जेठ । इजरायलले रफाहमा गरेको आक्रमणमा ४५ जनाको मृत्यु भएपछि राष्ट्रसङ्घका विज्ञहरूले निर्णायक अन्तर्राष्ट्रिय कारबाहीका लागि आह्वान गरेका छन् । उनीहरूले इजरायलविरुद्ध तत्काल प्रतिबन्धित हतियार प्रयोगमा प्रतिबन्ध लगाउनसमेत आह्वान गरेका छन् ।

इजरायली आक्रमणले विस्थापितको शिविरमा लक्षित प्रहार गरेपछि कम्तिमा ४५ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएको गाजाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गरी अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।

आक्रमणको केही समयपछि इजरायली रक्षा बलले हमासको कार्यालय परिसरलाई निशाना बनाएको र कारबाहीमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको घोषणा गरेको थियो । इजरायली शहर तेल अभीभमा हमासले गरेको पहिलो रकेट आक्रमणपछि इजरायली आक्रमण भएको हो ।

विशेषज्ञको समूहले रफाहमा भएको आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान पनि गरेको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङघीय उच्चायुक्तको कार्यालयले विज्ञप्ति जारी गर्दै बर्बर आक्रमण अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्