Logo

चुरे दोहन रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शनरत नागरिकको अवस्थाबारे सांसद महतोले गरिन् सरकारको ध्यानाकर्षण



काठमाडौं,२० जेठ । नेकपा एमालेकी सांसद जुलीकुमारी महतो महासेठले चुरे दोहन रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शनरत नागरिकको जीवनरक्षका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी महतोले चुरे दोहनले गर्दा मधेशका जनता मारमा परेको र चुरे विनासको असर समग्र देशले भोग्नुपरिरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

‘चुरे दोहन, वर्षाको कमी र प्राकृतिक प्रतिकुलता र प्रचण्ड गर्मीका कारण अधिकांश कलधाराहरु र नदिनालादेखि पोखरीसम्म सुकेका छन् । खानेपानीको अभावले जनजीवन कष्टकर भएको छ । कष्टकर बनेको छ । जनताहरुले खानेपानीको चरम अभाव सहन नसकेर पानीबिना त्राहित्राही बनेको छ’ उनले भनिन् ‘चुरे जोगाउन रित्तो भाँडा बोकेर काठमाडौंमा मधेशका नागरिकहरु सडकमा प्रदर्शनरत छन् । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकअन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र स्वास्थ्यको हकको व्यवस्था गरिएको भएतापनि त्यसतर्फ तीनै तहका सरकारको ध्यान जान सकेको छैन् । मधेश प्रदेशमा पानीबिना जनताको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । यसतर्फ सरकारको ध्यान जाओस्’ ।



प्रतिक्रिया दिनुहोस्