काठमाडौं, २० जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारीमा गएका युवाहरु ठगिएको भन्दै उनीहरुले न्याय पाउने कि नपाउने भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा बोल्दै सांसद साहले यस्तो प्रश्न गरेका हुन् ।
उनले भने,‘म्यानपावर एजेन्टहरुले अवैद्य ढंगले बिना रसिद लाखौं रुपैयाँ असुली गरिरहेका छन् । ती पैसा फिर्ता हुन्छन् कि हुँदैनन् ? भनेर म सोध्न चाहन्छु । ठगी मुद्दा भनेको सरकारवादी मुद्दा हो । सरकारले ठगहरुलाई दण्डित गर्नुपर्ने हो अनि पीडितहरुलाई न्याय दिलाउनुपर्ने हो । तर, आज सरकारका विभिन्न निकायहरु ठगी कार्यमा संलग्न छन् । जो रक्षक हो, उही भक्षक भएपछि स्थिति के हुन्छ ?’
सांसद साहले रोजगारीको अधिकार संवैधानिक अधिकार भएको उल्लेख गर्दै जनताको त्यो मौलिक अधिकार पूरा गर्ने दायित्व सरकारको भएको बताए । उनले भने,‘सरकारले जनताको त्यो मौलिक अधिकार पूरा गर्न सकेन भने एक मिनेटपनि त्यो कुर्सीमा बस्ने अधिकार छैन् । तर, यो देशमा बेरोजगारीको व्यापार भैरहेको छ । ती बेरोजगारीहरुलाई आज उपयोग गरिएको छ । उनीहरुलाई देखाएर आम्दानीको स्रोत बनाईएको छ । सरकारले गाउँ गाउँमा राखिएका अवैद्य एजेन्टलाई नियन्त्रण गर्नुपर्छ ।’ परिवार पाल्नको लागि विदेशिएका र आशा बोकेर विदेश गएका युवाहरु निराश बनेको उनको भनाई छ ।