Logo

शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला



मेक्सिको सिटी, २१ जेठ । मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकी छिन् ।

मेक्सिको सिटी निबासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उनले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।

विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकाले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौं सैनिकहरू तैनाथ गरिएको थियो ।

शेबनामले प्राप्त गरेको मत प्रतिशत उनको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अङकभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो ।

निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बावजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोभरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो ।

उनले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गरेकी थिइन् ।

मतदानपछि शेबनामले आफूलाई आँफैले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताएकी थिइन् ।

“लोकतन्त्र दीर्घकालसम्म रहिरहनेछ,” शेनबामले आफू निर्बाचित बनेपछि शुभचिन्तक तथा सहयोगी कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै घोषणा गरिन् ।

निर्वाचन सकिएपछि गाल्भेजले आफ्ना अनुयायीहरूलाई मतगणनालाई नजिकबाट नियाल्न आग्रह गरिन् ।

“हामी अधिनायकवाद र सत्ताविरुद्ध प्रतिस्पर्धा गरिरहेका छौं र उनीहरु जे पनि गर्न सक्षम छन्,” सिनेटर तथा आदिवासी मूलकी व्यवसायीसमेत रहेकी ६१ वर्षीया गाल्भेजले भनिन् ।

हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै बिजय ¥यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेका छन् ।

मेक्सिको सिटीकी ५५ वर्षीया क्लिनर क्लेमेन्सिया हर्नान्डेजले भनिन्, “नवनिर्वाचित महिला राष्ट्रपति शेनबाम यो देशका लागि परिवर्तनको बाहक बन्नुहुनेछ । उहाँले महिलाका लागि अझ धेरै काम गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

उनले भनिन् “मेक्सिकोमा धेरै महिला आफ्ना जीवनसाथीको अधीनमा छन् । उनीहरूलाई कामका लागि घरबाट बाहिर निस्कन दिइएको छैन । यस्तो अवस्थामा एक महिला देशको सर्वोच्च राजनीतिक पद धारण गर्नसक्नु समस्त महिलाहरूको विजय हो ।”

यद्यपि, ३० वर्षीया डेनिएला पेरेजले महिला राष्ट्रपति हुनु देशका लागि ‘ऐतिहासिक कुरा’ हुने बताइन् । राष्ट्रपतिका मुख्य दुबै उम्मेदवार उनको विचारमा ‘पूर्णतया नारीवादी’ थिएनन् ।

रसद कम्पनीका प्रमुख व्यवस्थापक पेरेजले भने, “हामीले महिला अधिकारमा सुधार ल्याउन, महिला हत्याको समस्या समाधान गर्न र महिलाहरूलाई थप सहयोग गर्न उनीहरूको भूमिका हेर्नुपर्नेछ ।”

शेनबामले आफ्नो लोकप्रियताको धेरै श्रेय निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरलाई दिएको छ । बामपन्थी नेता तथा मोरेना पार्टीका सल्लाहाकार ओब्राडोरले राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अनुमोदन दर ६० प्रतिशतभन्दा बढी हुँदाहुँदै पनि उनले दोस्रो कार्यकालका लागि आफुलाई निर्वाचनमा सहभागी गराएको थिएन ।

सडक खाना विक्रेता ५० वर्षीया रीना बाल्बुएनाले सत्तारुढ मोरेना पार्टीले वृद्धवृद्धा र बालबालिकालाई धेरै सहयोग गरेकाले आफूले शेनबामलाई मतदान गरेको बताइन् । रासस



प्रतिक्रिया दिनुहोस्