Logo

चुरे दोहनमा शीर्ष नेताहरुकै हात छ भन्दै प्रभु साहद्धारा संसदीय छानबिनको माग (भिडिओसहित)



काठमाडौं, २२ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले चुरे दोहनको कारण तराई/मधेश उजाड रहेको भन्दै दोषीहरुमाथि कारबाहीको माग गरेका छन् । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अहिले तराई÷मधेशमा पानीको हाहाकार रहेको उल्लेख गर्दै चुरे संरक्षणको जिम्मा पाएकाहरु नै यसको दोहनमा लागेको गम्भीर आरोप लगाएका हुन् । उनले भने,‘तराई/मधेशमा पानीको हाहाकार छ । जनताले पानी पाएका छैनन् । पानीको सतह घट्दै गैरहेको छ । पानीको मुहान सुक्दै गएको छ । खानेपानीको लागि मान्छेहरु काठमाडौंमा आएर धर्ना बस्नुपरेको छ ।’

तराई/मधेशमा पानीको हाहाकार हुनुको कारण तराई/मधेशको जनजीवनसँग जोडिएका चुरे क्षेत्रको विनाश भएको सुनाए । उनले भने,‘आज चुरिया क्षेत्रको दोहन भैरहेको छ । अवैध उत्खनन तिव्र गतिमा जारी छ। वन फडानी तिव्र नै छ । अव्यवस्थित् बसोबास र जथाभावी निर्माणले चुरियाको तहसनहस भएको छ । त्यसको एउटै कारण के देखिन्छ भने चुरियाको संरक्षणको जिम्मेवारी पाएकाहरु नै चुरेको दोहन कार्यमा संलग्न भएका छन् । उनीहरु नै चुरेको विनास र दोहनमा संलग्न छन् । अधिकांश पालिकाका प्रमुखहरु क्रसर उद्योगका मालिक छन् । काठका व्यापारी छन् । यिनीहरुको काम कस्तो देखिन्छ भने दुधको साक्षी बिरालोजस्तो देखिन्छ । जसलाई जिम्मा दिएको छ, उनीहरु नै चुरेको दोहनमा लागेका छन् । जनप्रतिनिधिहरु अधिकांश सांसद, विद्यायकहरु कुनै न कुनै ढंगले त्यो दोहनमा हिस्सा बनेका छन् । अहिलेको राज्यका तीनै तहका सरकारले जसरी चुरेको संरक्षण गर्नुपर्ने हो, त्यसको दोहनमा नै संलग्न भएको देखिन्छ । आज जंगल फडानीले गर्दा तराई मधेश मरुभुमी बन्दैछ । मानव–वन्यजन्तुबीच द्धन्द्ध बढेको छ। वन्यजन्तु अहिले मानव बस्तीमा छिरेका छन् । दिनानुदिन मान्छे जंगली जनावरको आक्रमणले मर्नुपरेको स्थितिपनि छ । पर्यावरणको अवस्था तहसनहस बनेको छ ।’

चुरे दोहन र पर्यावरण बिगार्ने काममा प्रमुख दलका प्रमुख नेताहरुको नै मुख्य भूमिका रहेको साहको गम्भीर आरोप छ । उनले भने,‘यी सबै कारण भनेको कुनै न कुनै ढंगले प्रमुख पार्टीका प्रमुख नेताहरू यसमा संलग्न छन् । किनभने टिकट दिने, तिनीहरुलाई उम्मेदवार बनाउने काम नेताहरूले छानीछानी गरेका छन् । म सोध्न चाहन्छु– त्यसबाट तपाईंहरूलाई कति हिस्सा आउँछ ? दोहनको हिस्सा लिएर देशलाई यसरी विनाश गर्ने ?’

उनले चुरे दोहन रोक्ने सरकारसँग कुनै योजना नै नभएको बरु उल्टै संरक्षणको नाममा लुटेर खाने काम भएको गम्भीर आरोप लगाए । उनले भने,‘चुरिया संरक्षणका लागि बन्ने समितिहरू पनि राजनीतिक भागबन्डाको आधारमा बनाउने गरिएको छ, मिलिजुली बनाउने अनि सरकारी बजेटपनि खाने, अहिलेसम्म जति अरबौं बजेट छुट्याईएको छ, बजेट स्वाहा अनि प्रगति शून्य हुने गरेको छ ।’

चुरे दोहन भयावह समस्या भएकोले सामान्य सरकारी संयन्त्रले यो रोक्न नसकिने उनको जिकिर छ । उनले भने,‘सम्माननीय सभामुखमार्फत म भन्न चाहन्छु, यस्तो भयावह अवस्था छ कि तराई मधेश नै मरुभूमी हुने र नेपालको भविष्यलाई ठूलो उथलपुथल ल्याउने विषयमा संसदीय छानबिनको विषय बनाउनुपर्छ । राज्यभन्दा माथि उठेर यसको अध्ययन गर्न जरुरी छ । संरक्षण संरक्षण भनेर अहिलेसम्म संरक्षण भएको छैन् । अहिलेसम्म अरबौं रुपैयाँ स्वाहा भैसकेको स्थितिलाई नजरअन्दाज गरियो भने देशको भविष्य अन्धकार हुनेछ ।’



प्रतिक्रिया दिनुहोस्