Logo

गणतन्त्रपछि भौतिक पूर्वाधारले फड्को मारेको छः सभापति राई



काठमाडौँ, २२ जेठ । राष्ट्रियसभाको विधान व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले गणतन्त्रप्राप्तिपछि मुलुकको भौतिक पूर्वाधार विकासले फड्को मारेको बताएकी छिन् ।

गणतन्त्र दिवस(२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपश्चात् उनले गणतन्त्रपछिको उपलब्धिलाई तस्बिर प्रदर्शनीले चित्रण गरेको उल्लेख गरिन् । “गणतन्त्रपछि भौतिक पूर्वाधारको विकास तीव्र रुपमा भएको छ, प्राविधिक रुपमा मलुकले फड्को मारेको छ भन्ने तस्बिरले चित्रित गरेको छ”, सभापति राईले भनिन्, “आर्थिक, सामाजिक, मानवीय विकासलाई अझ गति दिन जरुरी छ ।”

उनले राससमा प्रर्दशित तस्बिरले मुलुकको विकासको चित्र प्रस्तुत गरेको र यसले राजनीतिकर्मी र जनप्रतिनिधिलाई देशको चित्र कस्तो निर्माण बनाउने हो भन्ने सन्देश दिएको बताइन् । उनले भनिन्, “गणतन्त्रप्राप्तिपछि केही पनि नभएको भन्न मिल्दैन, संविधान जारीभएपछि सबैथोक भएको भन्न पनि मिल्दैन ।”

सांसद राजेन्द्रलक्ष्मी गैरेले गणतन्त्रपछि देशको विकास तीव्र गतिमा भइरहेको धारणा राखिन् । राससको तस्बिर प्रदर्शनीले विगतका उपलब्धि र आगामी दिनमा कसरी जानुपर्छ भन्ने सन्देश दिएको छ । उनले भनिन्, “अहिलेको अवस्थामा देशको विकासले गति लिएको छ । देश सुरुङमार्गमा प्रवेश गरिसकेको छ । सडक पूर्वाधारले फड्को मारेको छ । केही भएको छ भन्ने सन्देश तस्बिरले बोलेको छ ।”

सांसद गोमादेवी तिमिल्सिनाले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको उल्लेख गरिन् । उनले अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउँदै जनताको विश्वास र भरोसा अभिवृद्धि गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन् । /file photo



प्रतिक्रिया दिनुहोस्