काठमाडौं, २३ जेठ । भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा उल्लेखनीय सुधार हुने र सम्बन्धमा आइसब्रेक नै हुने दाबी गरेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा कुराकानी गर्दै मेहताले यस्तो दाबी गरेका हुन् ।
उनले मोदीको तेस्रो कार्यकालमा दुई देशबीचको सिमा विवादपनि हल हुने जिकिर गरे । उनले भने,‘म पूर्ण विश्वस्त छु–अब दुई देशबीचको सिमा विवाद समाधान हुन्छ । मोदीको छिमेक पहिलो नीतिअनुसार नेपालसँग सम्बन्ध सुमधुर हुन्छ । म त भन्छु अब सम्बन्ध सुधारमा नयाँ आइसब्रेक हुन्छ ।’
मेहताले यसअघि मोदीको कार्यकाल छिमेकसँगको सम्बन्धमा त्यति मेहनत नदेखिएको पनि टिप्पणी गरे । उनले भने,‘यसअघिका कार्यकालमा छिमेकसँगको सम्बन्ध त्यति राम्रो हुन सकेन, अब अझै राम्रो गर्छन् भन्ने मलाई लागेको छ ।’
मेहताले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीको बीचमा कुरा मिल्ने पनि दाबी गरे । उनले भने,‘उहाँहरुबीच राम्रो समझदारी हुन्छ । नेपालमा पनि प्रचण्ड तेस्रोपटक देशको नेतृत्व गर्दै हुनुहुन्छ, उहाँको पार्टी कमजोर भएर प्रधानमन्त्री हुनुभएको छ । यता, भाजपाको पनि यसपटक लोकसभामा सिट घटेको छ । अहिले २४० सिट जितेको छ, भाजपा निर्वाचनमा कमजोर हुँदापनि मोदी प्रधानमन्त्री हुँदैछन् । भाजपा नेतृत्वको एनडिए गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ । त्यसैले मोदीको तेस्रो कार्यकाल सुनिश्चित् र सुरु भैसकेको छ । अब नेपालसँगको सम्बन्धमा सुधार हुन्छ ।’
नेपालको विकास र समृद्धिमा अब मोदीको तेस्रो कार्यकालमा देखिनेगरि काम हुने उनको विश्वास छ । उनले भने,‘नेपालको विकासमा भारतको सधैं साथ र सहयोग रहँदै आएको छ । अब त्यो सहयोगमा बढोत्तरी हुन्छ ।’ नेपालको राजनीतिक व्यवस्थाप्रति भारतको चासो नरहेको बताए । तस्विर : अर्जुन भण्डारी/प्राइम टाईम्स टिभी–नयाँ दिल्ली