काठमाडौं, २३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कतैतिर पनि नढल्किएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बजेट कुनै पनि दलतिर नभइ जनतातिर ढल्किएको बताए ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार पार्टी संसदीय दलको बैठकमा अर्थमन्त्री पुनले ल्याएको बजेट माओवादीतिर ढल्किएको टिप्पणी गरेका थिए । ओलीले आफ्ना सांसदहरुलाई बजेटको छलफलमा खरो उत्रिनसमेत निर्देशन दिएका थिए ।
यो पनि पढ्नुहोस्ः बजेटप्रति असन्तुष्टि जनाउँदै ओलीले भने, ‘माओवादीको मात्रै जस्तो देखिन्छ’
एमाले अध्यक्ष ओलीले भनेझैं बजेट माओवादीतिर नढल्किएको उनको दाबी छ । उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरूमा आत्मविश्वास र हौसला पैदा गर्नेगरी बजेट आएको दाबी गरे ।
‘बजेट कतै पनि ढल्किएको छैन । माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन् । यथार्थ होइन । आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ,’– अर्थमन्त्री पुनले भने ।