Logo

आगलागीपीडितलाई राहत उपलब्ध गराउन माग



काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामकृष्ण यादवले तराई मधेसका विभिन्न जिल्लामा आगजनीका घटनाबाट ठूलो जनधनको क्षति भए पनि स्थानीयवासीले राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराए । बैठकको सुरुमा उनले आगजनी प्रभावितलाई राहत उपलब्ध गराउन गर्न ढिलाइ नगर्न आग्रह गरे ।

सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन प्रभावित भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विपद्बाट जोगाउन पूर्वतयारीको कामलाई प्रभावकारी बनाउन, दक्ष जनशक्तिको व्यवस्था गर्न, यथेष्ट बजेटको प्रबन्ध गर्न माग गर्दै सुरक्षाकर्मीले स्रोत तथा साधनको अभावमा पनि उद्धार तथा राहतमा परिचालित भएकामा धन्यवाद दिए ।

सांसद भट्टराईले विपद्को पूर्वतयारी जुन स्तरमा हुनुपर्ने थियो त्यसअनुरुप हुन नसकेको भन्दै तत्काल प्रभावकारी प्रबन्ध गर्न आग्रह गरे । उनले जलवायु कोषको रकम प्राप्तिका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि पूर्वतयारीबिना राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा देशभरका ज्येष्ठ नागरिकले दुःख पाएकाले त्यसलाई सहजीकरण गर्न माग गरे । उनले पूर्वतयारी नगरिँदा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकले दुःख पाएका उल्लेख गरे । रासस



प्रतिक्रिया दिनुहोस्