काठमाडौं, २ असार । रास्वपाका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले सरकारलाई प्रतिफल आउने क्षेत्रमा लगानी बढोत्तरुी गर्न सुझाव द्यिएका छन् । आज (आइतबार) प्रतिनिसभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
डा. वाग्लेले भने,‘यसपालि फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्वपूर्ण अंश जुन अलिखित छ, नयाँ चरणको आर्थिक सुधार । त्यसमा ध्यान दिनपनि म हार्दिक आग्रह गर्दछु । प्रतिफलको प्रत्याभूतिसहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेण्डामा हामी प्रवेश गर्नुपर्ने भयो । त्यसमा लगानी पुगेको छैन । लागत घटाउनुपर्यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्यो ।’
उनले क्लाईमेट फाईनान्स नै अबको विकास फाइनान्स हुने भएकोले त्यसतर्फ सरकारको पर्याप्त ध्यान जानुपर्ने धारणा राखे । उनले सुशासनको सवालमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिए । उनले बजेटमा लक्ष्य र जानुपर्ने दिशा ठीक रहेको सुनाए । तर, अहिले देखिएका ग्याप चाहीँ प्राइभेट फाइनान्सबाट जुटाउनुपर्ने उनले बताए ।
उनले उर्जा मन्त्रालयअन्तर्गत मोटामोटी दिशा ठीक रहेको भएपनि रकम अपर्याप्त भएको टिप्पणी गरे । उनले भौतिक मन्त्रालयअन्तर्गत एक एक करोड बाँडिएको भन्दै अहिले गाउँघरमा एक करोड रकममा एक किलोमिटरपनि सडक नबन्ने अवस्था चित्रण गरे ।
बजेटमा कृषि र सिचाईंलाई जोडेर हेर्दा उत्प्रेरणादायी नै रहेको उनको टिप्पणी छ । उनले अहिले रहेका राष्ट्रिय गौरवका पाँच वटा सिचाईं आयोजनामा विशेष ध्यान दिनपनि सरकारलाई सुझाव दिए । अहिले देशमा विद्यमान ३० लाख हेक्टरको खेतीयोग्य जमिनमा द्रुत गतिमा काम गर्न सकिए २५ लाख हेक्टरमा सिचाईं पुर्याउन सकिने उनको दाबी छ ।