Logo

केही समयपछि प्रचण्ड नेतृत्वको सरकार भताभुंग हुने विप्लवको भविष्यवाणी



काठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको बजेट हेर्दा नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नभएको टिप्पणी गरेका छन् । काठमाडौंमा हिजो (शनिबार) आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै विप्लवले अहिलेको बजेट हेर्दा ठूलो विचलन देखिएको दाबी गरे ।

उनले भने,‘यो बजेटमा यति धेरै विचलन । अहिलेको तर्क हेर्दाखेरि विचलन हुने देखिन्छ । यतै अलमलिने या केही समयपछि यो सरकारपनि भताभुंग हुन्छ कि भन्याजस्तो देखिन्छ । सरकारमा बसेका मान्छेहरुको कुरा गर्दा । सरकारले त गर्नुपर्छ । गरिपनि राख्या छ । केही नभएको पनि होईन । केही कुराहरु त सरकारबाट भैराखेकै छन् ।’ राज्य कम्तिमा पनि आत्मनिर्भर अर्थतन्त्रको दिशामा जानुपर्नेमा उनको जोड थियो ।

उनले मुलुकको आर्थिक अवस्थाको बारेमा आफूले पार्टीको दृष्टिकोण प्रधानमन्त्री पुष्पकमल दाहालसामू साझा गरेको स्मरण गराए । उनले भने,‘मैले प्रधानमन्त्रीलाई पनि भनेको थिएँ, कम्तिमा तपाईंहरुको भन्दा आर्थिक विषयमा हाम्रो राम्रो छ । अहिले माओवादी पार्टीको भन्दा हाम्रो पार्टीको आर्थिक स्थिति राम्रो छ । हाम्रो पार्टी टाट पल्टिएको छैन् । भन्न त मान्छेहरु चन्दा आतंक के के भन्छन् । त्यो कुरा होईन । दृष्टिकोणको कुरा हो क्या ।’ उनले पार्टी आत्मनिर्भर बन्ने कुरा दृष्टिकोणको कुरा भएको उल्लेख गरे ।

अहिलेको बजेट हेर्दा आफूले उत्साहपूर्ण अवस्था नदेखेको उनको टिप्पणी छ । उनले देशको जिम्मा लिनेहरुमा नै उत्साह नदेखिनु देश र जनताको लागि ठूलो चूनौति भएको बताए । यद्धपी उनले आफूहरुले सरकारसँग मिलेर काम गरिरहेको सुनाए । उनले आफूहरु देशको राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको दाबी गरे । file photo



प्रतिक्रिया दिनुहोस्