Logo

रोहितसँग धक्कामुक्की गरेका साकिबमाथि कारबाही, १५ प्रतिशत शुल्क जरिवाना तिर्नुपर्ने



असार ५ । इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले बङ्गलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिबलाई कारबाही गरेको छ । शाकिबले नेपालका कप्तान रोहित पौडेलसँग आइतवार सम्पन्न नेपालसँगको खेलकै बिचमा धक्कामुक्की गरेका थिए। आईसिसी आचारसंहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने कारबाही गरेको हो ।

आइतवार बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको तेस्रो पारी चलिरहँदा उक्त घटना भएको थियो। जहाँ नेपालका कप्तान रोहित पौडेल ब्याटिङ्गका लागि मैदानमा आएपछि शाकिबले पौडेलसँग मिडपिच कुराकानी गर्दै रोहितलाई धक्का समेत दिएका थिए।

शाकिबले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूका लागि आईसीसी आचार संहिताको धारा २(१२) को उल्लङ्घन गरेको आईसिसीले जनाएको छ। आईसिसीका अनुसार खेलाडी, खेलाडी समर्थन कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्तिसँग अनुपयुक्त शारीरिक सम्पर्कसँग सम्बन्धित हुनु नियम विपरित हो।

थर्ड अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनासहित मैदानी अम्पायर अहसान रजा र साम नोगाज्स्कीले पनि उक्त घटनाबारे आईसिसीलाई जानकारी गराएका थिए। शाकिबले आफूले गल्ती गरेको स्वीकारेपनि थप सुनुवाई नगर्दै आईसिसीले उनलाई कारबाही गरेको हो। उक्त खेलमा बङ्गलादेशले नेपाललाई २१ रनले पराजित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्