Logo

राजदूतमा भागबण्डामा रविको केही चलेन : मागेअनुसार दाहालले दिएनन्, ओलीको झनै कडा बोली



काठमाडौं, ७ असार । सत्ता गठबन्धनमा विभिन्न देशमा रिक्त रहेका राजदूतहरु नियुक्त गर्ने प्रक्रिया थालिएको छ । खासगरी सत्ता गठबन्धनका मुख्य घटक एमाले, माओवादी केन्द्र र रास्वपाका नेतृत्वबीच राजदूत भागबण्डाको विषयमा गम्भीर छलफल भएको हो ।

हिजो (बिहीबार) सिंहदरबारमा बसेको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भएको भेटवार्तामा यो विषयमा छलफल भएको हो । सरकारले हालै भारत, अमेरिकालगायत विभिन्न ११ देशबाट राजदूत फिर्ता बोलाएको छ ।

ती देशमा अब भागबण्डाको आधारमा राजदूत नियुक्ति हुन्छ । खासगरी, भारत र अमेरिकामा को राजदूत भएर जान्छ ? भन्ने विषय अहिले चासोका साथ हेरिएको छ । कतिपयले भने राजदूतजस्तो गरिमामय पदको लागि भागबण्डा गर्नु देशको लागि पनि लज्जाबोध हुने टिप्पणी गर्न थालिसकेका छन् । यसैबीच रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको भागमा अमेरिका वा भारतको राजदूत पठाउन माग गरेका छन् ।

लामिछानेको आग्रहलाई प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले ठाडै अस्विकार गरेको विश्वस्त स्रोतको दाबी छ । अमेरिका र भारत एमाले र माओवादीले लिने समझदारी गरेका छन् । लामिछानेले ११ वटा राजदूत नियुक्त गर्दा कम्तिमा आफ्नो पार्टीको भागमा चार राजदूत पाउनुपर्ने अडान राखेका थिए ।

तर, प्रधानमन्त्री दाहालले पनि त्यसमा पनि असहमति जनाएका थिए । ओलीले त भारत र अमेरिकाबाहेक पनि राम्रो देशको राजदूत रास्वपालाई नदिनेगरि कडा बोलीको बुझिएको छ । आज शुक्रबार मन्त्रिपरिषद् बैठक बस्दैछ । यो नियमित बैठक भएपनि यसले केही देशमा राजदूत नियुक्त गर्ने बुझिएको छ । त्यो विषयमा पनि हिजो साँझ अबेरसम्म बसेको तीन दलका नेताहरुको बैठकमा सहमति बनेको छ । file photo



प्रतिक्रिया दिनुहोस्