Logo

योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री



काठमाडौं, असार ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गरेका छन्।

नागरिकलाई स्वस्थ, नैतिकवान् र जिम्मेवार बनाउन योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

“योगाभ्यासबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुनेछ”, प्रधानमन्त्रीद्वारा शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीले नेपाल शिव, जनक र बुद्ध सभ्यताको त्रिवेणीका रुपमा रहेको र यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवद्र्धन गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्