Logo

बाबुरामले सबैलाई धोका दिनुभयो, फणीन्द्रलाई पनि सिध्याउनुभयोः महिन्द्र राय यादव (भिडिओसहित)



काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले सबैलाई धोका दिएको आरोप लगाएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पछिल्लो समय बाबुरामले गण्डकीका सांसद फणीन्द्र देवकोटालाई सिध्याएको आरोप लगाएका हुन् ।

यादवले आफू अहिले नेसपामै रहेको दाबी गरे । बाबुरामले गरेको कारबाही गैरकाननुी रहेको बताए । उनले दुई दलहरुबीच एउटै पार्टीको चुनाव चिन्ह लिएर निर्वाचनमा जाँदा जुन ठूलो दल हुन्छ, उसैको संसदीय दलको सदस्य हुने बताए । उक्त संसदीय दलको ह्वीप मान्न सबै सदस्यहरु बाध्यकारी हुने उनले बताए । फणीन्द्रले माओवादीको चुनाव चिन्ह लिएर चुनाव लडेको भन्दै उनले कारबाही जायज रहेको बताए ।

‘बाबुरामले सबैलाई धोका दिनुभयो । सबैलाई सिध्याउन खोज्नुभयो । अहिले देवकोटालाई सिध्याउने काम गर्नुभयो । अदालत एउटा प्रक्रिया हो । अहिलेसम्म जुन कानुन छ नि सबैभन्दा ठूलो दलको सदस्य हुने, माओवादीको चिन्हमा उहाँले लड्नुभएको छ । आँखा छापमा लड्नुभएको छैन । त्यहाँ लेखिएको छ, जुन संसद्ले ह्वीप उल्लङ्घन गर्छ, त्यसमाथि कारबाही हुन्छ,’– उनले भने ।

साथै, उनले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पार्टी एकताको सहमति भएको बताए । उनले एकता महाधिवेशनबाट सबै कुरा टुङ्ग्याउने बताए । एकतापछि पार्टीको नाम ‘कम्युनिष्ट पार्टी समाजवादी’ रहने पनि उनले बताए ।

‘प्रचण्डजीसँग हाम्रो तीन बुँदे सहमति भएको छ । पार्टी एकता गर्ने, वार्ता कमिटी बनेको छ । नाम परिवर्तन गर्ने । जुन दिन नेकपा (माओवादी केन्द्र) को नाम कम्युनिष्ट पार्टी समाजवादी हुन्छ, एकता महाधिवेशन हुन्छ । त्यो एकता महाधिवेशनमा जान्छौं र त्यहाँबाट पार्टी एकता घोषणा हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्