Logo

प्रधानमन्त्री प्रचण्ड-ओलीबीच भेटवार्ता



काठमाडौं, असार ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा संसदबाट आगामी आर्थिक वर्षको बजेट पास गराउनेबारे छलफल, मन्त्रीमण्डल पुर्नगठन लगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएरहेको स्रोतले जनाएको छ ।

भेटमा अध्यक्ष ओलीले संसदबाट बजेट पास गराउनुअघि बजेटमा देखिएको कमी हटाउने बारे प्रधानमन्त्रीसँग छलफल गरिरहेको जनाइएको छ ।

सरकारले आज प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ पास गर्ने तयारी गरेको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने आजको कार्यसूचीमा उल्लेख छ ।

त्यसअघि विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कांग्रेसको ह्वीप

सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि नेपाली कांग्रेस संसद‍्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । पार्टीले यसअघि शुक्रबार बसेको संसदीय दलको बैठकमा पनि बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरुलाई निर्देशन दिएको थियो ।

पार्टीले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ । बजेटमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहे पनि हुबहु पारित गर्न लागिएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।

माओवादीले बोलायो संसदीय दलको बैठक

बजेट पास गर्ने तयारी हुँदै गर्दा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बोलाएको छ । बजेट पारितका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । पार्टीले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने तयारी गरेको छ । सत्तारुढ अन्य दलले पनि बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्