Logo

आज बजेट पास गर्ने तयारी, ह्वीप जारी गर्न माओवादी संसदीय दलको बैठक बस्दै



काठमाडौं, असार ९ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पास गर्ने तयारी हुँदै गर्दा सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्रको संसदीय दल) को बैठक बोलाएको छ । बजेट पारितका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल गर्न र बैठकमा बजेटमाथि उठेका प्रश्नमाथी छलफल गर्न अहिले विहान १०ः३० मा संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । पार्टीले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने तयारी गरेको छ । सत्तारुढ अन्य दलले पनि बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गर्ने भएका छन् ।

यता सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि नेपाली कांग्रेस संसद‍्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । पार्टीले यसअघि शुक्रबार बसेको संसदीय दलको बैठकमा पनि बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरुलाई निर्देशन दिएको थियो ।

पार्टीले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ । बजेटमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहे पनि हुबहु पारित गर्न लागिएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्