Logo

संसद् सचिवालयका कर्मचारीले अघि सारेका मागका विषयमा प्रधानमन्त्री निवासमा छलफल जारी



काठमाडौं, असार ९ । संघीय संसद् सचिवालयका कर्मचारीले अघि सारेका मागका विषयमा छलफल गर्न राजनीतिक शीर्ष तहको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी भएका छन् । संघीय संसद् सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनमा उत्रिएपछि प्रतिनिधि सभाको बैठक समेत अवरुद्ध भएको थियो ।

यसअघि गत सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राजनीतिक दलका प्रमुख सचेतक, संघीय संसद् सचिवालयका महासचिव, सचिवहरु लगायतसँग कर्मचारीहरुको आन्दोलनको सम्बन्धमा छलफल गरेका थिए ।
आइतबार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिएको छ । कर्मचारीहरुले आफूहरूले पाउने सेवा, सुविधा समयानुकूल बनाउनुपर्ने माग सम्बोधन नभए आन्दोलन जारी रहने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्