Logo

प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको सुझाव : नटेर्ने मन्त्री फेर्ने, फेर्न नसके बालुवाटारबाट डेरा सर्ने (भिडिओसहित)



काठमाडौं, ९ असार। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नटेर्ने मन्त्रीहरु फेर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । यदि नटेर्ने मन्त्रीहरु फेर्न नसक्ने हो भने प्रधानमन्त्री स्वयमले बालुवाटारबाट डेरा सर्नुपर्ने पनि उनको सुझाव छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

उनले भने,‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व हो । तर, संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीको कुरा बकस दिएको जस्तोगरि आएको छ, मानौं यो तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो । अहिले आएर सरकारले निर्णय गर्यो अरे भन्ने सुनियो । तर, दिने अनुदानमा ७ प्रतिशत घटाउने अरे भन्नेपनि सुनियो । किनकी छैन भन्ने कुरा आयो । वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने ? अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ?यो अस्विकार्य छ । यो असंवैधानिक छ ।’

सांसद थापाले यही विषयलाई लिएर स्थानीय सरकारका प्रमुखहरुले प्रधानमन्त्री दाहाललाई भेटेको पनि स्मरण गराए । स्थानीय सरकारका प्रमुखहरुले अनुदान शय प्रतिशत नै चाहिन्छ भनेर कुरा राख्दा प्रधानमन्त्री दाहालले आफूले त मन गरेको तर मन्त्रीले मानेनन भनेको कुरा उल्लेख गर्दै थापाले नटेर्ने मन्त्रीहरु फेर्नको लागि पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए । उनले भने,‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो, यो त संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने अनि फेर्न नसक्ने हो भने बालुवाटारबाट आँफै डेरा सर्ने । धन्यवाद ।’



प्रतिक्रिया दिनुहोस्