Logo

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईद्वारा रासस तस्बिर प्रदर्शनी अवलोकन



काठमाडौँ, ९ असार । कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता शेरधन राईले राष्ट्रिय समाचार समिति (रासस) मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालमा के भयो र ? भनी निराशा फैल्याउने क्रमलाई यो प्रदर्शनीले चिरेको बताए ।

प्रदर्शनीमा राखिएका तस्बिर गणतन्त्रका उपहारका रुपमा रहेको उल्लेख गदै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका उनले आफू कोशी प्रदेशको मुख्यमन्त्री भएका बेला पनि धेरै सडक कालोपत्र गरिएको स्मरण ग।े ।

हाम्रै पालामा समृद्धि पस्कन सकिन्छ भन्ने भएपनि राजनीतिक अस्थिरताले त्यसलाई प्रभाव पारेको नेता राईले बताए । राजनीतिक स्थिरता र सुशासन विना समृद्धि सफल छैन यसैले अस्थिरता तोड्न सबै दल एकै ठाउँमा आउनुपर्ने भनाइ पनि उनले राखे।

इञ्जिनियर तिमिला यमीलगायत इञ्जिनियरिङका विद्यार्थीको समूहले पनि राससमा जारी तस्बिर प्रदर्शनीको अवलोकन गरेको छ । अवलोकनपछि प्रतिक्रिया दिँदै इञ्जिनियर यमीले तस्बिरलाई पुस्तकका रुपमा प्रकाशन गरिनुपर्नेमा जोड दिए ।

गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायोगमा निर्मित एवम् निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरको पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृति ः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । प्रदर्शनी सोमबारसम्म जारी रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्