काठमाडौं, असार १२ । युरोकप फुटबल २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सम्पन्न भएको छ । जर्मनीको कोल्नमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।
डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान ३-३ अंक र गोल भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो । स्लोभेनिया पनि अन्तिम १६ मा पुग्दा २ अंक जोडेको सर्बिया भने बाहिरिएको छ ।
यसअघि समूह डी मा अष्ट्रियाले नेदरल्यान्ड्सलाई ३-२ ले पराजित गर्दै समूह विजेता बनेको थियो । अन्तिम खेलमा फ्रान्स पोल्यान्डसँग १-१ को बराबरीका साथ समूह उपविजेता बन्दा नेदरल्यान्ड्सले पनि अन्तिम १६ मा स्थान बनायो । यस समूहबाट पोल्यान्ड बाहिरिसकेको थियो ।
हालसम्म अन्तिम १६ मा डेनमार्क र जर्मनी तथा स्विटजरल्यान्ड र इटालीले एक अर्कासंग खेल्ने पक्का भइसकेको छ । समूह ई र एफमा भने अन्तिम चरणको खेल बाँकी छ ।