काठमाडौं, १५ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले विगतमा एमालेसँग गठबन्धन गर्नुमात्रै ठिक भएपनि पार्टी एकता गरिनु गल्ती भएको टिप्पणी गरेका छन् । उनले एमाले र माओवादी केन्द्रबीच हतारमा पार्टी एकता गरिनु गल्ती भएको स्विकारे ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेपनि एमाले–माओवादीसहितका दलहरुबीच वाम गठबन्धन बनाउनुपर्ने बताए ।
उनले भने,‘आजको दिनमा वाम गठबन्धन त अनिवार्य आवश्यकत्ता नै हो। त्यता जानैपर्छ । पार्टी एकता त वैचारिक र राजनीतिक आधार नभईकन, हामीले जनयुद्धलाई भित्रबाट अपनत्व नलिने शक्तिसँग एकता गर्न सक्दैनौं, जो कोही होस ।’
विचारमा निकटता भएपछि मात्रै पार्टी गरिनुपर्ने उनको भनाई छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीसमेत रहेका आफ्नो पार्टीका अध्यक्ष प्रचण्डको सहकार्य लामो समयसम्म जाने पनि विश्वास दिलाए ।
उनले पार्टी नेतृत्वले पूर्वतिर ध्यान दिएपछि पार्टीभित्र रुपान्तरण सुरु हुने पनि विश्वास दिलाए । उनले माओवादी नीतिगत गल्ती गर्दा कमजोर भएको स्विकारे । उनले माओवादीले गरेका नीतिगत त्रुटिहरुमा सेनापति प्रकरणदेखि एमालेसँग पार्टी गरिनुसम्म भएको सुनाए ।