Logo

माधव नेपालको पार्टीको कार्यक्रममा पुगेर गृहमन्त्री लामिछानेले भने : पछि जन्मिएकोले धेरै ठूलो कुरो गर्नुहुँदैन्



काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले पछि जन्मिएकोले धेरै ठूलो कुरो गर्न नहुने टिप्पणी गरेका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म लामो कुरा गर्दिनँ , पछि जन्मिएकोले धेरै ठूलो कुरो गर्नुहुँदैन् । कान्छो कान्छो पार्टी भएकोले हुनाले दिग्ज दिग्ज मानिसहरुको बीचमा बोल्नु भनेको छोटी मु, बढि बात जस्तो हुन्छ । म बढि बातले पीडित भएको हुनाले मैले यो बढि बात घटाउनुपर्ने हुन्छ । यो अनुभवले सिकाउँदै जाने कुरा हो ।’

उनले नेपालमा २००७ सालदेखि नै मुलुक विषम परिस्थितिमा छ भनिएको र अहिलेसम्म पनि त्यही भनिएको बताए । लामिछानेले देशले प्राप्त गर्नुपर्ने कुरा सबै प्राप्त गरेको सुनाए । उनले भने,‘संविधानको हिसाबले, अधिकारको हिसाबले र व्यवस्थाको हिसाबले र लोकतान्त्रिक गणतान्त्रिक संविधान प्राप्त गरेका छौं । आजपनि मुलुक बढो विषम परिस्थितिमा छ भनिएको छ । लोकतन्त्रपनि खतरामा छ भनिएको छ । यदि यसो हो भने त्यो अप्ठ्यारो नेपाली जनताहरुले पारेका हुन ? गरिब जनताले पारेको हो ? कसले अप्ठ्यारोमा पार्यो ?’

उनले लोकतन्त्रमा खतरा भए जोगाईदिने जनता रहेको सुनाए । यो लोकतन्त्र खतरामा छ भनेर नेताले चिन्ता गर्नुपर्ने विषय नभएको उनको टिप्पणी छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्