Logo

बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेस–एमालेले बोलाए संसदीय दलको बैठक



काठमाडौं, असार २२ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र नयाँ सरकार गठन लगायत राजनीतिक परिस्थितिबारे छलफल गर्दै कांग्रेस(एमालेबीच नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी गराइने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्ने गरी कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेपछि पहिलो पटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने छ ।

नयाँ सरकार बनाउने सहमतिपछि एमालेले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले र अशोक राई नेतृत्वको जसपाले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने अडान लिएर संसद् ‘फेस’ गर्ने तयारीमा अघि बढेपछि नेकपा (एमाले)ले पनि संसदीय दलको बैठकमा छलफल गर्ने भएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्