Logo

शेखर कोइरालालाई दलको नेता बन्नको लागि दबाब, आजबाट बढाए सक्रियता



काठमाडौं, २२ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राजनीतिक सक्रियता बढाएका छन् । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उच्चस्तरमा वार्ता गरेर सहमति गरेपछि मात्रै कोइराला समूहले थाहा पाएको थियो ।

यद्धपी कांग्रेस र एमाले मिलेर सरकार चलाउनुपर्ने र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने एजेण्डा उठाउँदै आएका कोइराला नयाँ समझदारीबाट खुशी नै रहेको आम बुझाई छ । उनले संविधानको सबै कुरामा संशोधन गर्न खोजियो भने त्यसले समस्या निम्त्याउने भन्दै निर्वाचन प्रणालीमा मात्रै सुधार गर्नुपर्ने आवाज उठाएका छन् ।

पछिल्लो समय परिवर्तित राजनीतिक अवस्थालाई ध्यानमा राखेर कोइराला समूहका नेताहरुले उनलाई दलको नेता बन्नको लागि सुझाएको विशेष स्रोतको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अल्पमतमा परेपछि संवैधानिक व्यवस्थाबमोजिम सदनमा विश्वासको मत लिने भएका छन् ।

उनले सदनलाई जानकारी गराएर यही असार २८ गते विश्वासको मत लिने व्यवस्था गर्न भनेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिन नसकेपछि नयाँ सरकार संविधानको धारा ७६ को ३ अनुसार गठन हुनसक्ने चर्चा छ । यस्तोमा ठूलो दलको हैसियतले कांग्रेसले नयाँ सरकार गठन गर्नेछ ।

कांग्रेस र एमालेका नेताहरुले भने नयाँ सरकार पनि संविधानको धारा ७६ को २ अनुसार नै गठन हुने भनेका छन् ।

शेखरलाई आफ्ना समूहका नेताहरुले दलको नेता बन्नको लागि सुझाएका छन् । यसअघि कोइराला समूहबाट निर्वाचनलगत्तै दलको नेताको लागि भएको चुनावमा महामन्त्री गगन थापालाई उठाईएको थियो । थापा सभापति देउवासँग पराजित भए । तर, थापाले आफूले निरन्तर प्रयास गर्ने र यही संसद्को कार्यकालमापनि दलको नेता परिवर्तन गरेरै छाड्ने उद्घोष गरेका थिए ।

अहिले भने शेखरलाई दलको नेताको रुपमा अघि सार्न खोजिएको छ । अहिले परिस्थिति अनुकुल भएकोले शेखरले दलको नेतामा बाजी मार्ने उक्त समूहका नेताहरुको बुझाई छ। शेखरलाई परिवर्तित अवस्थाको कारणपनि ४० भन्दा बढि सांसदको साथ रहने सो समूहका नेताहरुको बुझाई छ ।

यही सन्दर्भमा कांग्रेस नेता कोइरालाले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री दाहाल भेट्न शेखर कोइराला बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री दाहालले कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेपछि यही असार २८ गते शुक्रबार विश्वासको मत लिँदैछन् ।

सरकारमा सहभागी एमाले सरकारबाट बाहिरिएको छ । उसले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छ । उता, अशोक राई नेतृत्वको जसपापनि सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री दाहाल अल्मतमा परेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिन असफल भए नयाँ सरकार गठन संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्ने दाहालको चाहना छ । यस्तोमा ठूलो दलको नाताले सरकारको नेतृत्व स्वतः नेपाली कांग्रेसले गर्ने उनको बुझाई छ। एमालेले भने प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने अडान लिएको थियो । यही सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोइरालालाई पछिल्लो समय दलको नेता बन्नको लागि उनका समूहका नेताहरुको दबाब छ ।



प्रतिक्रिया दिनुहोस्