Logo

मन्त्रीहरु नै कानूनले प्रतिबन्ध लगाएको हुण्डी कारोबारमा संलग्न छन् : प्रभु साह (भिडिओसहित)



काठमाडौं, २४ असार । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सांसद साहले कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरुनै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको दाबी गरेका हुन् ।

साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने बताए । उनले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।

साहले भने, ‘हुण्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौं । आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ । मन्त्रीहरु, ठूल्ठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन् ।’ उनले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस्