Logo

मुकुलमाथि कारबाहीको निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं, असार २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदन, पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही गर्ने वा निलम्बन हटाउने भन्नेबारे छलफल हुने बताइएको छ ।

आफूले तयार पारेको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल हुने बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने ढकालको माग पार्टीले अस्विकार गरेपछि उहाँ मुखमा मास्क र कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए।

बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि महामन्त्री र पार्टी प्रवक्ता पदबाट निलम्बन गरेको थियो ।

महामन्त्री ढकाललाई कारबाही गर्न पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत एकमत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्