Logo

एमाले सचिवालय बैठक केहीबेरमा, मन्त्रीहरुको नाम फाईनल गरिने



काठमाडौं, २५ असार । नेकपा (एमाले) को सचिवालय बैठक सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा सहभागी हुन प्रायः नेताहरु पार्टी मुख्यालय च्यासल पुगिसकेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा मन्त्रीहरु क–कसलाई पठाउने भन्नेबारे छलफल हुने बताईएको छ ।

अध्यक्ष ओलीले यसपटक सरकारमा उपप्रधानमन्त्री नराख्नेगरि नेपाली कांग्रेससँग सहमति गरेको चर्चा छ । तर, कांग्रेसबाट सरकारमा सहभागी हुने नेताहरु यसअघि पनि उपप्रधानमन्त्री भैसकेकोले दुवै दलबाट एक÷एक जना उपप्रधानमन्त्री राख्नपनि सकिनेगरि दुवै दलका नेताहरुबीच सहमति जुटेको छ ।

एमालेले अर्थसहितका ९ वटा मन्त्रालय पाउने सहमति भएको छ । यद्धपी साना दल पनि सरकारमा सहभागी हुँदा मन्त्रालयको संख्या घट्ने बताईएको छ । अहिले एमालेबाट अर्थमन्त्री बनेर को जाने भन्नेबारे बहस सुरु भएको छ । धेरैले उपाध्यक्ष विष्णु पौडेलले सरकारमा सहभागी हुने भनेका छन् । तर, एमालेनिकट उच्च स्रोतको दाबीअनुसार पौडेल यसपटक पनि सरकारमा जान त्यति ईच्छुक छैनन् । उनी पार्टीको काममा सक्रिय हुने बुझिएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रघुवीर महासेठले एमालेबाट नेतृत्व गरेका थिए । अहिलेपनि उनै महासेठ ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनेर सहभागी हुने चर्चा चलेको छ । यद्धपी उनको नाममा पार्टीभित्र एकमत देखिँदैन् । महासचिव शंकर पोखरेलले उनलाई रोक्न खोजेका छन् ।

तर, उपाध्यक्ष पौडेलले भने सरकारमा सहभागी भएको छोटो समयमा बाहिरिनु परेकोले महासेठलाई ओली क्याविनेटमा दोहोर्याउन लविङ गरेको बुझिएको छ । ओलीले आफ्नो क्याविनेटमा पार्टीबाट नयाँ अनुहारलाई ठाउँ दिनेपनि चर्चा छ । अहिले सचेतकको जिम्मेवारीमा रहेकी सुनिता बराल, धनुषा-३ बाट निर्वाचित जुली महतो, काँस्की-२ बाट निर्वाचित विद्या भट्टराईमध्ये एक जनालाई मन्त्री बनाउने चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्