Logo

बेचन झा को हुन भनेर बालकोट र बुढानिलकण्ठलाई राम्रोसँग थाहा छ : लेखनाथ दाहाल



काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष के उद्देश्यले माओवादीसँगको सहकार्य तोडेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले एमाले अध्यक्ष ओलीले माओवादीसँग के कारणले सहकार्य गरेको र अहिले के कारणले भत्काएको ? भनेर जवाफ दिनुपर्ने टिप्पणी गरे ।

उनले भने,‘सम्माननीय सभामुख महोदय, केही दिनदेखि यो सदनभित्र एउटै विषयवस्तु केन्द्रित भएर छलफल चलिरहेको छ । मूलभूत रुपमा नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवा र नेकपा एमालेका आदरणीय अध्यक्ष केपी ओलीजीको बीचमा भएको ७ बुँदे जो बदनियतपूर्ण सहमित छ, त्यसपछि पैदा भएको राजनीतिक तरंग छ, त्यो तरंगले सदनभित्र विषयवस्तुपनि केन्द्रित भएर उठिरहेको छ । मैले केही विषवस्तु राख्नैपर्छ । हामी सबैलाई थाहा छ कि आजभन्दा चार महिना अगाडि कमरेड केपी ओलीकै पटक पटकको प्रस्तावमा कम्युनिष्टहरु मिल्ने भन्नुभयो, उहाँको प्रस्तावमा कमरेड प्रचण्डले स्विकार्नुभयो । विश्वास गर्नुभयो । त्यो विश्वासको जगमा त्यो राजनीतिक सहकार्य सरकार सहकार्यसँग जोडिनुपर्छ भन्नुभयो, त्यहीअनुसार अघि बढियो । तर, उहाँले जुन उद्देश्यले सहकार्य गर्नुभयो, अहिले आएर त्यो सहकार्य तोड्नुभयो । मैले कमरेड केपी ओलीलाई प्रश्न गर्नैपर्छ–तपाईंले कुन उद्देश्यले सहकार्य तोड्नुभयो ?’

सांसद दाहालले सरकारले सुशासनको काममा निरन्तरता दिएकोपनि सुनाए । तर, एमालेले के कारणले सत्ता सहकार्य तोडेको भन्ने विषयमा जवाफ दिनुपर्ने भनेर उनले पटक पटक प्रश्न गरे । दाहालले बेचन झा को हुन भनेर बालकोट र बुढानिलकण्ठ दुवैलाई राम्रोसँग थाहा रहेको टिप्पणी गरे । उनले भने,‘बेचन झा को हुन ? हामीलाई थाहा छैन् । नेपाली जनतालाई थाहा छैन् । तर, बेचन झा को हुन भनेर बालकोट र बुढानिलकण्ठलाई राम्रोसँग थाहा छ । बेचन झाको गिरफ्तारीपछि उनको बयान असार २८ गतेसम्म नलिनु, पछि लिनु भनेर फर्मान जारी भएको कुरा बजारमा आएको छ ।’



प्रतिक्रिया दिनुहोस्