Logo

एमालेले माग्यो बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा



काठमाडौं, २५ असार । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा माग गरेको छ । आज (मंगलबार) एमाले प्रदेश संसदीय दलले वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै तत्काल राजीनामा दिएर सहमतीय सरकार निर्माणमा साथ दिन आग्रह गरेको हो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले विज्ञप्ति जारी गर्दै प्रदेशमा स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन आग्रह गरेका हुन् । साथै, दीर्घकालीन असर पर्ने प्रकृतिका कुनै पनि निर्णय नगर्न, नगराउन प्रदेश सरकारलाई एमालेले ध्यानाकार्षण गराएको छ ।

उनले एमालेले देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले पहलकदमी लिइरहेको पनि उल्लेख गरेका छन् ।

बागमतीमा एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा रहेका मुख्यमन्त्री जम्कट्टेलले भने प्रदेश सभामा विश्वासको मत फेस गर्ने मनस्थिति बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्