Logo

विनोद चौधरीको पनि सत्तारोहणको तयारी, सहरी वा उद्योग मन्त्रालयमध्ये एक लिने



काठमाडौं, २६ असार । नेपाली कांग्रेसका सांसद विनोद चौधरीपनि अब बन्ने सरकारमा महत्वपूर्ण मन्त्रालय लिएर सहभागी हुने भएका छन् । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको लागि सहमति गराउन चौधरीले पनि निर्णायक भूमिका खेलेका थिए । पछिल्लो समय चौधरीको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुमधुर भएको छ ।

ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि नै चौधरीलाई मन्त्री बनाउनको लागि पार्टीभित्रैबाट नेतृत्वमाथि दबाब सिर्जना भएको छ । यसअघि पनि उनलाई सरकारमा सहभागी हुनको लागि आग्रह गरिएको थियो । तर, उनले त्यतिवेला आफू तत्काल सरकारमा सहभागी हुन ईच्छुक नभएको भनेर टारेका थिए ।

अहिले सदनका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बलियो सरकार बन्ने भएपछि उनीपनि सरकारमा गएर राम्रो काम गर्न चाहन्छन् । उनले विकाससँग प्रत्यक्ष जोडिएको मन्त्रालय लिएर सरकारमा जाने चाहना राखेका छन् । एमाले अध्यक्ष ओलीले पनि चौधरीलाई सरकारमा आउनको लागि आग्रह गरेको विशेष स्रोतको दाबी छ ।

यता, पार्टी सभापति शेरबहादुर देउवाले पनि यसपटक चौधरीलाई राम्रो मन्त्रालय दिएर सरकारमा पठाउन चाहेका छन् । चौधरीलाई सहरी विकास वा उद्योग मन्त्रालयमध्ये एकको नेतृत्व गरेर सरकारमा पठाउने सम्भावना बढेको कांग्रेसका प्रभावशाली एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

नयाँ सरकार बन्ने पूर्वसन्ध्यामा कांग्रेसमा मन्त्री बन्न चाहनेहरुको सक्रियता बढेको छ । यसपटक महामन्त्री गगन थापाले पनि महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने चाहना राखेका छन् । सभापति देउवाले भने रमेश लेखकलाई गृह मन्त्रालयको नेतृत्व गर्नेगरि सरकारमा पठाउने निधो गरिसकेका छन् । देउवाले लेखकलाई गृहमन्त्रीमा सारिएको सन्देश बालकोट पुर्याईसकेका छन् । त्यसमा प्रधानमन्त्री बन्न लागेका ओलीले पनि सकारात्मक जवाफ दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्